विराटनगर, २ वैशाख । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय मोरङले आफ्ना कर्मचारीहरूका लागि विशेष योग अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। प्रहरी कर्मचारीहरूलाई स्वस्थ, निरोगी राख्न र कार्यक्षेत्रमा हुने तनाव व्यवस्थापन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङको प्राङ्गणमा आयोजित उक्त शिविरमा पतञ्जली योग शिविरबाट पाल्नुभएका प्रशिक्षक द्वय ज्ञानु न्यौपाने र रुवी चौधरीले योगाभ्यास गराउनुभएको थियो। प्रशिक्षकहरूले दैनिक जीवनमा योगको महत्त्व र तनाव कम गर्ने विभिन्न आसन तथा प्राणायामका बारेमा प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार र जवान गरी कुल ६० जनाको उपस्थिति रहेको थियो।
प्रहरीले चौबिसै घण्टा जनताको सुरक्षामा खटिनुपर्ने हुँदा शारीरिक र मानसिक रूपमा तन्दुरुस्त रहन यस्ता योग कार्यक्रमहरूले ठुलो सहयोग पुर्याउने विश्वास प्रहरी कार्यालयले लिएको छ।



