काठमाडौँ, ६ वैशाख । आईसीसी महिला टी–२० आई च्यालेन्ज ट्रफी अन्तर्गत आइतबार भएको खेलमा नेपालले इटालीलाई ५० रनको फराकिलो अन्तरले पराजित गरेको छ। पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै सानदार जित दर्ता गरेको हो।
नेपालले दिएको ११३ रनको लक्ष्य पछ्याएको इटाली १८.४ ओभरमा मात्र ६२ रनमा समेटियो। इटालीलाई सस्तैमा समेट्न नेपालकी पूर्व कप्तान रुबिना क्षेत्रीले घातक बलिङ गर्दै ४ विकेट लिइन्। त्यस्तै कविता कुँवरले २ विकेट लिँदा मनिषा उपाध्याय, रचना कुमारी र रिया शर्माले १–१ विकेट बाँडे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन बनाएको थियो। नेपालका लागि पूजा महतोले सर्वाधिक ४८ रनको अविजित इनिङ्स खेलिन्। अन्य ब्याटरहरूले दोहोरो अंक जोड्न संघर्ष गरे पनि पूजाको कप्तानी पारीले नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याएको थियो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी रुबिना क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। यो जितसँगै नेपालले प्रतियोगिताको अघिल्लो चरण प्रवेशको सम्भावनालाई कायमै राखेको छ।



