काठमाडौँ, २७ चैत । सरकारले ‘डिजिटल सुशासन’लाई सुदृढ बनाउँदै नागरिक एपमार्फत एकै ठाउँबाट धेरै सेवा दिने तयारी अन्तिम चरणमा पुर्याएको छ। आगामी एक साताभित्रै नागरिक एपको नयाँ संस्करण सार्वजनिक भएसँगै परीक्षार्थी, विद्यार्थी र कर्मचारीले मोबाइलबाटै महत्वपूर्ण कागजात प्राप्त गर्न सक्नेछन्।
के-के थपिँदै छन् नयाँ सुविधाहरू?
- लोकसेवा परीक्षार्थी: अब लोकसेवाको प्रवेशपत्र मोबाइलबाटै डाउनलोड गर्न सकिने।
- विद्यार्थीलाई राहत: वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (NOC) एपमै उपलब्ध हुने।
- इन्जिनियरिङ लाइसेन्स: नेपाल इन्जिनियरिङ परिषद्बाट जारी हुने व्यावसायिक प्रमाणपत्र पनि डिजिटल रूपमै प्राप्त हुने।
- कर्मचारी विवरण: निजामती कर्मचारीले आफ्नो व्यक्तिगत विवरण (PIS) सिधै हेर्न र डाउनलोड गर्न सक्ने।
सूचना प्रविधि विभागका महानिर्देशक चन्द्र साहका अनुसार यी सेवाहरू अहिले परीक्षणको अन्तिम चरणमा छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले तोकिएको समयभन्दा अगावै सेवा सुरु गर्न निर्देशन दिनुभएको छ।
चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ अन्तर्गत यो योजना अघि सारिएको हो। हाल नागरिक एपबाट ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ (Police Report) डाउनलोड गर्ने सुविधा सुचारु भइसकेको छ। सरकारी सेवालाई झन्झटमुक्त, पारदर्शी र आधुनिक बनाउन यो कदम कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ।



