सुनसरी,२८ चैतः| सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव थेबेका अनुसार पक्राउ पर्नेहरूमा सप्तरीको तिलाठी कोइलारी गाउँपालिका–५ का ५८ वर्षीय रामलखन यादव र भारतको सुपौल, छिटही हनुमाननगर ग्राम पञ्चायत–१५ का ६५ वर्षीय प्रभु मुखिया रहेका छन्।
भारतबाट मोटरसाइकलमा चढेर नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको ६ लाख ६९ हजार ७१० रुपैयाँ फेला पारेको हो। उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरू र बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा अवैध हुण्डी कारोबार हुनसक्ने आशङ्कामा प्रहरीले निगरानी बढाएको छ।



