27.1 C
Kathmandu
Monday, April 20, 2026
spot_img

नयाँ शैक्षिक सत्र व्यवस्थापनमा प्याब्सन झापाको जोड

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक गरेको छ ।

जिल्लास्तरीय बैठकपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका निर्णयहरू कार्यान्वयनमा जोड दिँदै प्याब्सनले विद्यालयहरूलाई समयमै तयारीमा जुट्न आह्वान गरेको हो ।

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै वार्षिक कार्ययोजना, विद्यालय सुधार योजना निर्माण, शिक्षक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न सबै सदस्य विद्यालयलाई आग्रह गरेको छ ।


भर्ना प्रक्रिया समयमै सम्पन्न गरी पठनपाठनलाई नियमित बनाउनु अहिलेको प्राथमिकता रहेको प्याब्सन झापाका अध्यक्ष कार्कीले भने ।बैठकले विद्यालयहरूले निर्धारित समयभित्रै नतिजा प्रकाशन गर्नुपर्ने निर्णयसमेत गरेको छ ।

विशेषगरी कक्षा ८ को जिल्ला स्तरीय परीक्षाको नतिजा चैत मसान्तभित्रै सार्वजनिक गरिसक्नुपर्नेमा जोड दिइएको अध्यक्ष कार्कीले जानकारी दिए ।शैक्षिक तथा नीतिगत समसामयिक विषयमा आवश्यक समन्वयका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने र त्यसबारे विद्यालय तथा अभिभावकलाई जानकारी गराउने नीति पनि तय गरिएको उनले बताए ।

यद्यपि, सरकारी निर्णयअनुसार हप्तामा दुई दिन बिदा दिइनुले नयाँ शैक्षिक सत्रको तालिका प्रभावित भएको प्याब्सनको ठहर छ ।अध्यक्ष कार्कीले उक्त निर्णयले अभिभावक, विद्यार्थी र विद्यालय सबैलाई अन्योलमा पारेको दाबी गरे । दुई दिन बिदा हुँदा वार्षिक रूपमा करिब ५२ दिन विद्यालय बन्द हुन्छ ।

यस्तो अवस्थामा पाठ्यक्रम पूरा गर्न वर्षे, हिउँदे, प्रदेश तथा स्थानीय, पर्ब  बिदा कटौती गर्नुपर्ने देखिन्छ उनले भने।
उनका अनुसार न्यूनतम २०५ दिन विद्यालय सञ्चालन भए मात्रै पाठ्यक्रम समयमै सम्पन्न गर्न सकिनेछ । इन्धन बचतका नाममा गरिएको बिदा थप्ने निर्णयले शैक्षिक तालिका अव्यवस्थित बनेको र शिक्षकहरूलाई कक्षा तालिका (रुटिङ) बनाउन कठिनाइ भएको उनको भनाइ छ।

“ सरकारको निर्णयले कुन विषयलाई कति समय दिने, कति पिरियड बनाउने भन्ने अन्योल छ,” उनले थपे ।
प्याब्सनले शैक्षिक सत्र घटाउने सरकारी निर्णयप्रति पनि प्रश्न उठाएको छ । परीक्षा सम्पन्न भएपछि चैतको अन्तिम वा वैशाखको पहिलो साताभित्र नतिजा सार्वजनिक गरी भर्ना प्रक्रिया अघि बढाउन सकिने अवस्थामा सत्र छोट्याउनुको औचित्यबारे स्पष्ट पार्नुपर्ने अध्यक्ष कार्कीको भनाइ छ ।

“सातामा दुई दिन बिदा र वैशाखभरि पठनपाठन नहुँदा पाठ्यक्रम पूरा गर्नै कठिन हुने देखिन्छ,” उनले भने ।
विद्यालय सञ्चालनमा ढिलाइ हुँदा झापाको बिर्तामोड र मेचीनगरका केही विद्यालयबाट अभिभावकले आफ्ना बालबालिकालाई भारतका विद्यालयतर्फ पठाउन थालेकोप्रति पनि उनले चिन्ता व्यक्त गरे ।“नेपालमा पढाइ हुँदैन भन्ने गलत धारणा फैलिनु दुःखद् हो,” उनले भने ।
यसैबीच, प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले शुल्कसम्बन्धी विषयमा सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति आपत्ति जनाए ।

उनले संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०७२ अनुसार नै शुल्क निर्धारण भइरहेको स्पष्ट पारे ।
पत्रकार सम्मेलनको सञ्चालन प्याब्सन झपाका सचिव लक्ष्मी उप्रेतीले गरेका थिए । उनले बैठकले गरेका अन्य निर्णयहरू पनि सार्वजनिक गरेका थिए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार