बागमती किनारका सुकुम्बासी बस्ती हटाइयो: ५५ परिवार सम्पर्कमा, प्रहरीको सहयोगमा सुन्दरीघाट स्थानान्तरण सुरु

काठमाडौँ, वैशाख १२ | काठमाडौँ महानगरपालिकाले बागमती नदी किनारका अनधिकृत बस्ती हटाउने अभियानलाई तीव्र पारेको छ। शनिबार महानगरले थापाथली र गैरीगाउँस्थित सुकुम्बासी बस्तीका संरचनाहरू भत्काएसँगै विस्थापित परिवारहरूको व्यवस्थापन कार्य सुरु भएको छ।


अव्यवस्थित बस्तीहरूलाई उचित व्यवस्थापनसहित सुरक्षित स्थानमा स्थानान्तरण गर्ने सरकारी योजना अनुसार नेपाल प्रहरीले कार्यस्थलमा सुरक्षा र समन्वयको भूमिका निर्वाह गरिरहेको छ। स्थानान्तरण प्रक्रियालाई शान्तिपूर्ण बनाउन र सम्भावित अवरोधलाई न्यूनीकरण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले स्थानीय प्रशासन र सम्बन्धित निकायसँग मिलेर जोखिमयुक्त क्षेत्रमा रहेका परिवारहरूलाई व्यवस्थित रूपमा सार्न सहयोग गरिरहेको छ।


काठमाडौँ उपत्यका विकास प्राधिकरणकी इन्जिनियर प्रकृति केसीका अनुसार कीर्तिपुरको सुन्दरीघाटस्थित अस्थायी आश्रयस्थल (सेल्टर) का लागि हालसम्म ५५ परिवारले नाम दर्ता गराएका छन्। जसमा ५० परिवार थापाथली र ५ परिवार गैरीगाउँका रहेका छन्। सम्पर्कमा आएकामध्ये २५ परिवारका १३१ जनालाई सुन्दरीघाटको सेल्टरमा स्थानान्तरण गरिसकिएको अधिकारीहरूले जनाएका छन्।


महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले थापाथली क्षेत्रका अनधिकृत संरचना भत्काउने काम सम्पन्न भइसकेको र अहिले त्यहाँबाट सामानहरू सार्ने कार्य भइरहेको जानकारी दिनुभयो। गैरीगाउँ क्षेत्रमा पनि ५० प्रतिशत संरचना हटाइसकिएको छ।
थापाथली र गैरीगाउँको व्यवस्थापन सकिएलगत्तै महानगरको टोली डोजरसहित मनोहरा र जडीबुटी क्षेत्रतर्फ केन्द्रित हुने प्रहरी प्रमुख जोशीले बताउनुभयो। नदी किनारलाई अतिक्रमणमुक्त बनाउने सरकारको यो कदममा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

मुख्य समाचार