बिर्तामोड, वैशाख १६ । बिर्तामोड नगरपालिकाले वडा नं. ३ मा सञ्चालित घरेलु कागज उद्योगको प्रवर्द्धनका लागि आर्थिक तथा प्राविधिक प्रस्ताव आह्वान गरेको छ।
कोशी प्रदेश सरकारबाट हस्तान्तरित सर्तसहितको कार्यक्रम अन्तर्गत प्राप्त रु ५,००,००० (पाँच लाख) बजेट कार्यान्वयन गर्न नगरपालिकाले यो सूचना जारी गरेको हो। उद्योगलाई थप व्यवस्थित र प्रवर्द्धन गर्ने उद्देश्यले सो बजेट परिचालन गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाद्वारा जारी सूचना अनुसार, इच्छुक र योग्यता पुगेका उद्यमी वा संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्ना आवश्यक कागजातसहित आर्थिक र प्राविधिक प्रस्ताव पेश गरिसक्नुपर्नेछ।
प्रस्तावका लागि आवश्यक कागजातहरू:
१. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
२. व्यवसाय नवीकरण गरेको कागजात
३. भ्याट/पान (VAT/PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपि
४. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र
५. इजाजतपत्रको प्रमाणपत्र र नवीकरणको प्रमाण
प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रद्वारा हस्तान्तरित सूचनामा उल्लेखित समयभित्रै रितपूर्वकको प्रस्ताव पेश गर्न नगरपालिकाले आग्रह गरेको छ। स्थानीय स्तरमा उत्पादन हुने घरेलु कागजको प्रवर्द्धनले रोजगारी र स्थानीय सीपको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।
