भक्तपुर, १ जेठ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको आवेदन फाराम बुझाउने सम्बन्धी सूचना प्रकाशित गरेको छ। मिति २०८३/०३/०१ गतेदेखि सञ्चालन हुने पूरक परीक्षाका लागि आज जेठ १ गतेदेखि जेठ १५ गतेसम्म आवेदन फाराम भर्न सकिने बोर्डले जनाएको छ।
नियमित समूहबाट परीक्षा दिई अवर्गीकृत (Not Graded) भएका वा अनुपस्थित भएका विद्यार्थीहरूले सम्बन्धित विद्यालयमार्फत फाराम भर्नु पर्नेछ।
मुख्य नियम तथा सर्तहरू:
- योग्य विद्यार्थी: २०८२ को नियमित परीक्षामा सहभागी भई अवर्गीकृत (NG) भएका वा एक वा सोभन्दा बढी विषयमा अनुपस्थित विद्यार्थी मात्र पूरक परीक्षाका लागि योग्य हुनेछन्।
- अयोग्य विद्यार्थी: आवेदन फाराम भरेर कुनै पनि विषयको परीक्षामा सहभागी नभएका, परीक्षा रद्द भएका, वा ग्रेडवृद्धि समूहबाट परीक्षा दिई NG भएका विद्यार्थीले यो फाराम भर्न पाउने छैनन्।
- राजस्व रकम: परीक्षा आवेदन बापत प्रति विद्यार्थी रु. ५०० (पाँच सय रुपैयाँ) बुझाउनु पर्नेछ। उक्त रकम कार्यालयको कोड ३५०३२३३०१ र राजस्व शीर्षक नं. १४२२३ मा जम्मा गरी भौचर आवेदन फारामसँगै बुझाउनु पर्नेछ।
- प्रवेशपत्र: पूरक परीक्षाका लागि नियमित समूहकै प्रवेशपत्र र सिम्बोल नम्बर प्रयोग गर्नु पर्नेछ।
- फाराम डाउनलोड: परीक्षाको आवेदन फाराम कार्यालयको वेबसाइट see.gov.np बाट डाउनलोड गर्न सकिनेछ।
विद्यालय र एकाइका लागि समयसीमा:
सम्बन्धित विद्यालयले विद्यार्थीहरूबाट संकलन गरेका आवेदन फारामहरू मिति २०८३ जेठ १६ गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइमा बुझाइसक्नु पर्नेछ। समन्वय एकाइले उक्त विवरणहरू जेठ १८ गतेभित्र कार्यालयको डिजिटल पोर्टलमा प्रविष्टि (Entry) गराई सक्नुपर्ने सूचनामा उल्लेख छ।



