काठमाडौँ, २ जेठ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै सरकारी कर्मचारीलाई धम्की दिने प्रकाश खड्का नामका व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं. १३ का वडा सचिव कमल भण्डारीलाई खड्काले फोनमार्फत प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी अत्यन्त अभद्र भाषामा धम्की दिएका थिए। सो घटनाको अडियो रेकर्ड प्राप्त भएपछि प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रियाअनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने, अमर्यादित शब्द प्रहार गर्ने र धम्क्याउने जस्ता गतिविधि पूर्णतः निन्दनीय र अक्षम्य हुने उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “उक्त घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निज प्रकाश खड्कालाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित सुरक्षा एवं अनुसन्धान निकायलाई कडा निर्देशन दिइसकेको छ।”
सजग रहन र सूचना दिन अपिल
प्रधानमन्त्री कार्यालयले कसैको पनि धम्की, बार्गेनिङ वा नाजायज दबाबमा नपर्न कर्मचारीहरूलाई आग्रह गरेको छ। कुनै पनि व्यक्तिले आफ्नो निजी स्वार्थपूर्तिका लागि प्रधानमन्त्री, उहाँको सचिवालय वा कार्यालयको नाम लिएर धम्की दिएमा वा दबाब सिर्जना गरेमा तुरुन्त नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री कार्यालयमा जानकारी गराउन अपिल गरिएको छ।
साथै, आगामी दिनमा यस्ता भ्रम र दुरुपयोगबाट बच्नका लागि प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम जोडेर आउने शङ्कास्पद फोन, सन्देश वा संवादहरूलाई आधिकारिक माध्यमबाट अनिवार्य रूपमा प्रमाणीकरण (वेरिफिकेसन) गरेर मात्र काम कारबाही अगाडि बढाउन सम्पूर्ण सरकारी निकाय, स्थानीय तह र राष्ट्रसेवक कर्मचारीहरूलाई विशेष आग्रह गरिएको छ।
राज्यको प्रशासनिक गरिमा अक्षुण्ण राख्न र संस्थागत साखमा आँच आउन नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सदैव सजग र प्रतिबद्ध रहेको प्रवक्ता अर्यालले स्पष्ट पार्नुभएको छ।
