सरकारले राष्ट्रिय परीक्षा बोर्डलाई एसईईको नतिजा एक महिना भित्रै सार्वजनिक गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड निकट स्रोतका अनुसार शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षा सचिव चुडामणि पौडेलमार्फत उक्त निर्देशन दिएका हुन् ।
चैत १९ गते एसईई परीक्षा सञ्चालन हुँदैछ । अहिलेसम्म परीक्षा सकिएको दुई महिनापछि मात्रै नतिजा प्रकाशन हुँदै आएको छ । मन्त्री पोखरेललाई मन्त्रालयका कर्मचारीले कम्तीमा २ महिना लाग्ने बताएका थिए ।
उत्तरपुस्तिका परीक्षा सञ्चालन भएकै विद्यालयमा परीक्षण गर्ने व्यवस्था मिलाएर छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएको स्रोतले जनायो । नतिता चाँडो प्रकाशन गर्न प्रधानमन्त्री वालेन्द्र शाहलेसमेत चासो दिएको मन्त्रायको भनाइ छ । सरकारको निर्देशनपछि बोर्डको बैठक डाकेर निर्णय लिने तयारी छ ।
बोर्डमा अध्यक्ष पद रिक्त छ । उपाध्यक्ष शिक्षा सचिव रहने व्यवस्था छ । बोर्डको बैठक बसेर आवश्यक निर्णय लिने उनले जनाए । मन्त्री पोखरेलले एसईईको नतिजा प्रकाशनको अवधि छोट्याउने गृहकार्य भइरहेको जनाए ।
यसअघि उत्तरपुस्तिका संकलन गरी निश्चित जिल्लाको सदमुकाममा मात्र परीक्षण गर्ने अभ्यास हुँदै आएको छ । एक जिल्लाको उत्तरपुस्तिका कोडिङपछि अर्को जिल्लामा लगेर परीक्षण गर्ने गरिन्छ ।



